Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


आयल निगमको दावीविरूद्ध टेकुको धरातलीय यथार्थ (तस्बिरसहित)


507
Shares

काठमाडौं । काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ ।

सुगम, नेपाल, एभरेस्ट, एलपी, राजधानी र त्रिवेणी ग्याससहितका विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका हुन् । नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज रहेको दावी जारी राखेको छ । तर खुद्रा डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगेका सर्वसाधारण भने निगमको दावी र धरातलीय यथार्थ बीच ठूलो अन्तर रहेको बताउँछन् ।

नेशनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण गर्ने समय तोकिएको छ । मानिसहरु हिलो र घाम–पानीको पर्वाह नगरी लाइनमा उभिएका दृश्यहरु देख्न सकिन्छ । निगमका अधिकारीहरुले ग्यास उद्योगीहरुलाई नियमित सुविधा दिइएको र भारतबाट बुलेटहरु निर्वाध रुपमा भित्रिरहेको दावी गरेका छन् । निगमका अनुसार नागरिकले हडबढाएर आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्न खोज्दा र स्थानीय डिलरहरुले कृत्रिम अभाव सिर्जना गर्दा समस्या देखिएको हो । टेकुमा हजारौंको लाइन छ ।

यदि आयल निगमसँग पर्याप्त ग्यास छ भने भान्सा किन रित्ता छन् भन्दै वितरण केन्द्रमा सञ्चारकर्मीहरु पुग्दा नागरिकहरुले आयल निगम र वाणिज्य विभागको फितलो अनुगमनमाथि आक्रोश व्यक्त गरेका थिए । कतिपय मानिसहरु सिलिण्डरमै बसेर थकान मेट्दै पालो पर्खिरहेका देखिन्थे । नेशनल ट्रेडिङ टेकु शाखाबाट ग्यास विक्रीका लागि तोकिएको बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको ६ घन्टे समयसीमा आफैँमा पर्याप्त नभएको उपभोक्ताको गुनासो छ । सिमित घण्टा मात्र बिक्री खुला गर्दा हजारौंका सङ्ख्यामा रहेका उपभोक्ता एकै ठाउँमा थुप्रिन पुगेका हुन् ।

ग्यास लिनका लागि उपभोक्ताहरूले टोकन प्रणाली वा अनलाइन दर्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन् । अहिलेको परम्परागत भौतिक लाइनका कारण वृद्धवृद्धा, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई अझ बढी कठिनाइ भएको हाे । उपभोक्ता अधिकारकर्मीहरूका अनुसार निगमले काठमाडौंका डिलरहरूमा ग्यास भए–नभएको र कालोबजारी भएको छ कि छैन भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी बजार अनुगमन गर्नुपर्ने आवश्यकता छ ।

केवल विज्ञप्ति जारी गरेर ‘ग्यास पर्याप्त छ’ भन्दै पन्छिनु भन्दा उपभोक्ताको घरदैलोमै ग्यास पुग्ने सहज वातावरण बनाउनुपर्ने आवाज उठेको छ ।