Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : माधवकुमार नेपाल


117
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु अहिले मुलुकको प्रमुख चुनौती रहेको बताउनुभएको छ।

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको स्वाभिमान जोगाउँदै मुलुकलाई विदेशीको क्रीडाभूमि बन्नबाट बचाउनु आवश्यक रहेको बताउनुभएको हो।

सहसंयोजक नेपालले नेपाल कुनै पनि देशको अधीनमा रहन नचाहने र कुनै राष्ट्रविरुद्ध पनि उभिन नचाहने बताउँदै सबै मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय आपसी असमझदारी बढाउने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै उहाँले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “देशको अस्तित्वको रक्षा कसरी गर्ने, देशको स्वाभिमान कसरी बचाउने र देशलाई विदेशीको क्रीडाभूमि बन्नबाट कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु छ। हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन। कसैको अधीनमा रहन चाहँदैन र कसैका विरोधमा पनि जान चाहँदैन।”

नेपालले शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीको रक्षा गर्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेल्नुभएको भूमिकाको स्मरण गर्दै उहाँले वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

सहसंयोजक नेपालले जनताका दैनिक समस्या समाधानमा राज्य संवेदनशील हुन नसकेको आरोपसमेत लगाउनुभयो। गरिबी, बेरोजगारी, मिटरब्याजपीडित, सहकारीपीडित र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो।

यस्ता समस्या समाधान हुन नसक्दा नागरिक आत्महत्याको अवस्थासम्म पुग्नु दुःखद् भएको उल्लेख गर्दै उहाँले वामपन्थी तथा देशभक्त शक्तिहरू यस विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो।

नेपालले नयाँ पुस्तामा इतिहास र अग्रजहरूको योगदानप्रति सम्मान गर्ने संस्कार कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। मुलुक निर्माणमा योगदान दिएका व्यक्तित्वको सम्मान र मूल्याङ्कन गर्न नसक्ने अवस्था आउनु लाजमर्दो भएको उहाँको भनाइ थियो।

उहाँले समाजले कस्तो पुस्ता हुर्काइरहेको छ भन्ने विषयमा सबैले आत्ममन्थन गर्नुपर्ने बताउनुभयो। गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका क्रममा अरूका घर जलाउने, परिवारका सदस्यलाई आक्रमण गर्ने तथा अंगभंग हुने अवस्थासम्मका घटना भएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिप्रति आपत्ति जनाउनुभयो।

“अरूको घर जलाउनेले आफ्नो घर जल्यो भने के हुन्थ्यो होला भनेर सोच्नुपर्छ। अरूका परिवारका सदस्यमाथि हातपात गर्दा त्यही घटना आफ्नै परिवारका सदस्यलाई भएको भए कस्तो अवस्था हुन्थ्यो भन्ने हेक्का राख्नुपर्छ,” उहाँले भन्नुभयो।

सहसंयोजक नेपालले समाजमा सहिष्णुता, मानवीय संवेदना र आत्ममूल्याङ्कनको संस्कार विकास गर्न सबै पक्षलाई आग्रह गर्नुभयो। उहाँले इतिहासको सम्मान, अग्रजहरूको योगदानको कदर तथा जनताका समस्या समाधानलाई राजनीतिक दल र राज्यको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।