एजेन्सी । अमेरिकाले नेपाल र बंगलादेशसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नयाँ नियम लागू गरेकाे छ।
अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम २० हजार अमेरिकी डलरसम्म पुर्याएको हो । जुन नेपाली रुपैयाँ करिब ३० लाख भन्दा बढी हो । यो व्यवस्था विशेषगरी बी–१ (व्यापार) र बी–२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ। नयाँ नियमअनुसार न्यूनतम १० हजार डलर र अधिकतम २० हजार डलर धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ता अघि नै उक्त रकम बुझाउनुपर्ने व्यवस्था गरिएको हाे।
भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि नाघेर अमेरिकामा बसेमा (ओभरस्टे) भने सो रकम जफत हुने भएकाे हाे। अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैरकानूनी रूपमा बस्नेहरूको संख्या घटाउन यो कदम चालेको जनाएको छ। ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा शुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाएको हो।
साेही नियमबाट नेपालसहित बंगलादेश र भुटानका नागरिक पनि प्रभावित भएका छन्। अमेरिकी विदेश मन्त्रालयले भविष्यमा यो सूचीमा अन्य देशहरूलाई पनि थप्न सकिने समेत जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्