Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


कक्षा १२ को नतिजा गत वर्षकाे भन्दा विश्वासनीय भएकाे शिक्षामन्त्री पोखरेलको दावी

'उत्तरपुस्तिका र्‍यान्डम छानेर परीक्षण गर्दा पानि लापरबाही नभएको पुष्टि '

0
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगत वर्षकाे भन्दा यस पटक कक्षा १२ को परीक्षाको नतिजा विश्वासनीय भएको दावी गर्नुभएकाे छ।

राष्ट्रियसभामा शुक्रबार नेकपाका सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको मन्त्री पोखरेलले यस्तो जवाफ दिनुभएकाे हाे ।उहाँले कक्षा १२ को परीक्षाको नतिजा ३९ दिनमै ल्याउँदा लापरबाही भएको प्रश्न उठे पनि परीक्षणले लापरबाही नभएको पुष्टि गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे-“कक्षा १२ को यसपटक हामीले एकदमै चाँडो नतिजा ल्याउन सफल भएका थियौं । ३९ दिनमै नतिजा ल्यायौँ, चाँडो नतिजा ल्याएको हुनाले लापरबाही भएको हो कि भन्ने प्रश्न उठेको थियो । प्रश्न उठेपछि कमिटी बनाएर उत्तरपुस्तिका र्‍यान्डम छानेर परीक्षण गर्दा लापरबाही नभएको पुष्टि भएको छ ।”

बाँकी विषयमा ‘ए प्लस’ जीपीए पाएका विद्यार्थीको कुनै विषयमा ‘एब्सेन्ट रिजल्ट’ आएकोसहित सार्वजनिक त्रुटिका विषयमा भने मन्त्री पोखरेलले कुनै टिप्पणी नगर्नुभएकाे हाे । नम्बर पुनर्योगको लागि परेका निवेदनका तथ्यांक प्रस्तुत गर्दै कक्षा १२ को नतिजा यसपटक थप विश्वासनीय भएको दावी समेत गर्नुभयाे।

सांसद सुनारले कक्षा १२ को परीक्षामा लापरबाहीले गर्दा ७ सय ४२ विद्यार्थी लेखपढबाट बञ्चित भएको भन्दै प्रश्न उठाउनुभएकाे छ । त्यसबाहेक सांसद सुनारले ‘एसईईका परीक्षार्थीका एक हजार उत्तरपुस्तिका हराएको भनिएको र यो सरकार आएपछि अझै धेरै बेथिति भएको भन्दै प्रश्न राख्नुभएकाे थियाे ।

एसईईका उत्तरपुस्तिका हराएकाे विषयमा भने मन्त्री पोखरेलले कुनै जवाफ दिनुभएन ।