Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कोशी प्रदेश सरकारले कप्तानगञ्जमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने


78
Shares

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाँउपालिका ३ स्थित कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएकाको परिवारलाई रु दुई लाख राहत स्वरुप दिने भएको छ।

बिराटनगरमा बुधबार सम्पन्न सर्वपक्षीय बैठकले आइतबार राति गोली लागि निधन भएका मेहताका परिवारलाई दुई लाख रुपैयाँ, घाइते भएकाहरुसँगै आगजनी भएका घरसंरचनालाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यससँगै बैठकले अन्य आठ बुँदे निर्णय समेत गरेको छ। बैठकले देवानगन्ज गाँउपालिका हुँदै सुनसरीका विभिन्न स्थानमा देखिएको आक्रोशलाई सम्बोधन गर्दै समाजिक सद्भाव, आपसी मेलमिलाप र भाइचाराको रुपमा समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिएको छ।

बैठकले राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वय गरी सामाजिक सद्भाव कायम गर्न पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

उनले कप्तानगञ्जमा भएको घटनामा घाइतेहरूको उपचारका लागि र मृतकका परिवारका लागि केन्द्रीय सरकारसमक्ष राहत रकम उपलब्ध गराउन अनुरोध गर्ने बताए। मुख्यमन्त्री कार्कीले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपील जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले सीमाक्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउन सम्बन्धित निकायलाई सुझाव दिए।

यसैगरी, बैठकले घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ। सर्वपक्षीय बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं प्रदेशस्तर स्तरका सुरक्षा निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो।