Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


312
Shares

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

मंगलबार बिहान दोधारा चाँदनी–४ निवासी ४५ वर्षीय रामबहादुर सिंह महाकाली नदीमा पौडी खेल्ने क्रममा नदीको बहाव एक्कासि बढेपछि बीच भागमा फसेका थिए।

स्थानीयले तत्काल सशस्त्र प्रहरीलाई खबर गरेपछि सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको नेतृत्वमा खटिएको उद्धार टोलीले रबर बोटको सहायताले करिब एक घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरेको हो।

उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण महाकाली नदीको बहाव बढ्ने क्रम जारी रहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।

विशेषगरी नदीमा पौडी खेल्ने, माछा मार्ने, दाउरा संकलन गर्ने वा फोटो तथा भिडियो खिच्ने उद्देश्यले नदीको बीच भाग वा किनार नजिक जाने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ ।