काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाको विचार व्रह्माण्डीय विचार भएको बताउनुभएको छ ।
बिहीवार ४४ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीपीको विचारमा कसैको ट्रेडमार्क नलाग्ने बताउनु भयो । उहाँले वीपीको रगत आफूहरुसँग नरहेपनि वीपीको विचार, आदर्श र सिद्धान्त रहेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसको वर्तमान नेतृत्वले वीपीको विचारलाई विश्वरभर फैलाउने बताउनुभयो ।
गौतम बुद्धपछि विश्वले चिन्ने दर्शनका रुपमा वीपी कोईरालाका विचार र सिद्धान्तलाई स्थापित गर्ने उहाँको दाबी छ । उहाँले वीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै बदलिएको समयअनुसार देशलाई अघि बढाउने संकल्प गर्न काँग्रेसका नेता–कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । वीपीको रगतभन्दा पनि उहाँको विचारका लागि जीवन अर्पण गर्नेहरूको योगदानले नै वीपीको राजनीतिक दर्शनलाई राष्ट्रिय चेतनाको हिस्सा बनाएको उहाँले बताउनुभयो ।
वीपी कोईरालाको आह्वानमा प्राण आहुति दिएका दुर्गानन्द झा र कामेश्वर कुशेश्वरलगायतका व्यक्तिहरूको उदाहरण दिँदै उहाँले वीपीको विचार कुनै परिवार वा वंशमा सिमित नभई सम्पूर्ण देशको साझा सम्पती भएको बताउनु भयो । दशकौँको राजनीतिक संघर्ष, सशस्त्र द्वन्द्व र कठिन परिस्थितिमा पनि काँग्रेसको विचारबाट विचलित नभएका कार्यकर्ताहरूलाई वीपीको मार्गमा अडिग रहन उहाँले आग्रह गर्नुभयो ।
आगामी ५० वर्षपछि पनि नेपालका युवाले बुद्धपछि देशका महान व्यक्तित्वको नाम लिँदा वीपी कोईरालाकै नाम स्मरण गर्ने वातावरण निर्माण गर्नु काँग्रेसको लक्ष्य हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘वीपी कोइराला नाम गरेको विचार यो व्रह्माण्डीय विचार हो । ब्रोडर विचार, यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा, यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन । हामी वीपी कोईरालाको रगत बोकेका मानिसहरु होइनौं तर वीपी कोईरालाको विचार, बीपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौं । हामी जान्दछौँ, वीपी कोईरालाको आह्वानमा फाँसीमा झुन्डिएका दुर्गानन्द झाको शरीरमा वीपीको रगत थिएन । हामी जान्दछौँ, बीपीको आह्वानमा जीवन गुमाएका कामेश्वर कुशेश्वरहरुको शरीरमा वीपीको रगत थिएन । त्यसैले आज वीपीको विचार सिंगो देशको विचार भइरहेको बेलामा काँग्रेस जन प्रत्येकले आफ्नो मन मस्तिष्कमा बीपीको विचारलाई, वीपीको संस्कारलाई, वीपीको प्रेरणालाई अनुभूति गर्नुछ र दृढतापूर्वक संकल्प गर्नुछ । चाहे दश वर्षे द्वन्द्वमा गाउँ–गाउँमा रहेर मारिदै गर्दा पनि काँग्रेस नछोडेर बसेको परिवार जन होस्, प्रत्येकले आजको मितिमा संकल्प गर्नुछ कि हामी बदलिएको समयमा पनि वीपीको विचार बमोजिम देशलाई लिएर जानेछौं । ताकि अबको ५० वर्ष पछिको युवकले पनि देशको लागि नाम लिनु प¥यो भने बुद्ध पछि नाम लिँदै गर्दा खेरि वीपीको नाम लिनेछ । नेपालको राजनीतिज्ञहरु मध्येमा तिमीले लिने नाम, तिमीले हिँड्ने बाटो, तिमीले लिने विचार कसको हो भन्यौँ भने त्यस बेला पनि उसले भन्नेछ– वीपी कोईराला, वीपी कोईराला, वीपी कोईराला भनेर भन्नेछ । त्यो वीपीको विचार र त्यो सिद्धान्त बमोजिमको यात्रा अगाडि बढ्नका लागि अहिले हामीले चयन गरेको सभापति गगन थापा र सिंगो टिम नयाँ ढंगले, नयाँ सोच र नयाँ संकल्पका साथ जान प्रतिवद्ध छ । यसैको लागि देशभरिका, स्वदेश विदेशका सबै साथीहरूको यो नयाँ यात्रामा हामी साथ चाहन्छौं ।’
उहाँले पार्टीभित्र देखिएको मतभेद र आलोचनालाई स्वभाविक रुपमा लिन पनि पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्