Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


पार्टीलाई एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको : डा. शशांक


0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताउनुभएको छ ।

४४औं वीपी स्मृति दिवसको अवसरमा वक्तब्य जारी गर्दै कोइरालाले नेतृत्वले सवै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै सम्वाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस वास्तविक रूपमा एकताबद्ध हुने बताउनुभयो । कोइरालाले भन्नुभयो –‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ ।’

डा. कोइरालाले अहिले मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको बताउदै वीपी कोइरालाले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै यी चुनौतीहरूको सामना गर्ने सामथ्र्य आज हामीले राख्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप चिर्दै मुलुकलाई सही दिशा दिन जिम्मेवार राजनीतिक शक्तिहरूले परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता हो ।’

उहाँले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ्य प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न नहुने स्पष्ट पार्नुभयो ।

पूर्वमहामन्त्री कोइरालाले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएको बताउदै विचारको भिन्नतालाई विभाजनको आधार होइन, साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले वी।पी। कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति, संवाद, सहिष्णुता र सहकार्यको राजनीतिक संस्कारले यही प्रेरणा दिने उल्लेख गर्नुभयो ।
उहाँले वीपी कोईरालाको विचारलाई जीवन्त राख्नु आफ्नो पहिलो र अन्तिम दायित्व रहेको बताउदै भन्नुभयो( ू मलाई विश्वास गर्नुस्, म वीपीलाई जीवन्त राख्नेछु । कहिल्यै मर्न दिने छैन ।

उहाँले वी.पी.कोइरालाले । उहाँको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपालको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको बताउदै वीपीले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको बताउदै नेपाली राजनीतिलाई केवल सत्ताको माध्यमका रूपमा होइन, राष्ट्रिय हित, जनकल्याण र लोकतान्त्रिक संस्कृतिको सम्वद्र्धन गर्ने साधनका रूपमा स्थापित गर्नुभएको उल्लेख गरेको बताउनुभयो ।

डा. कोइरालाले अहिलेको जटिल अवस्थामा आरोप–प्रत्यारोप, आग्रह–पूर्वाग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको विचार, संगठन तथा राजनीतिक एकतालाई सुदृढ बनाउदै नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टीभित्रको एकता र सहकार्यलाई मजबुत बनाउन अपिल गर्नुभयो ।