Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


उखु किसानको २२ करोड ठगी


169
Shares

नवलपरासी उखु किसानलाई २२ करोडबढी रुपैयाँ भुक्तानी नगरी ठगी गरेको आरोपमा नवलपरासी रामग्राम नगरपालिका–२ परासीका शैलेन्द्र गुप्तालाई सर्लाही प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

गुप्ता सर्लाही धनकौल गाउँपालिका– २ मा अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्र्जि प्रा.लि. का सञ्चालक हुन् । उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नदिएको भन्दै गुप्तासहितका सञ्चालकविरुद्ध सर्लाही प्रहरी कार्यालयमा ‘ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर’मा किसानहरुले जाहेरी दिएपछि गुप्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

उद्योग सञ्चालक शैलेन्द्र नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताका दाजु हुन् । उक्त उद्योग शैलेन्द्र र सांसद नरेन्द्रकी श्रीमती सीमा गुप्ताको नाममा छ । शैलेन्द्रसँगै सीमा गुप्तालाई समेत पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

सीमा गुप्ता भने अहिलेसम्म पक्राउ परेकी छैनन् । उक्त मुद्दामा उद्योगको शेयरधनी भएको आधारमा नवलपरासीमा इट्टा उद्योग सञ्चालन गर्दै आएका विनोद साह कलवारसमेत पक्राउ परेका थिए । तर तीन वर्षअघि नै आफूले उद्योगको शेयर सीमा गुप्तालाई बिक्री गरिसकेको प्रमाण प्रस्तुत गरेपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

स्रोतका अनुसार सांसद नरेन्द्रकुमार पनि उद्योगका शेयरधनी रहेको र केही महिना अघि मात्र आफ्नो शेयर श्रीमती सीमाको नाममा नामसारी गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जाहेरी आउनेक्रम चलिरहेको बताउनुभयो । यसअघि ठगीको बिषयमा गरिएको छानविनमा २२ करोड भुक्तानी नदिइएको सिफारिस समितिलेृ गरेको थियो ।