काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्नुभएकाे हाे। उनीहरूले उत्पादन गरेका वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने समेत उहाँले आश्वासन दिनुभयो ।
छलफलका क्रममा महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’ लाई शीघ्र बजारमा ल्याउन उहाँले सुझाव दिनुभएकाे छ । महासङ्घका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूका उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाह समक्ष आग्रह गरेका छन् ।
महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले प्रधानमन्त्री शाहको कार्यशैली ‘एक्शन ओरिएन्टेट’ रहेको र यस छलफलले महिला उद्यमशीलता प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्