Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


देशैभर धान रोपाइँ सुस्त गतिमा, हालसम्म ४५ प्रतिशत मात्रै सम्पन्न

गण्डकी प्रदेशमा सबै भन्दा बढी, कोशीमा कम रोपाइँ

0
Shares

काठमाडाैं । देशैभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ ।

कृषि विभागले यहि असार २६ गतेसम्ममा देशेभर कूल धान रोपाइँ ४५ दशमलव ८१ प्रतिशत मात्रै रोपाइँ सकिएको जनाएकाे हाे। विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरण अनुसार गत वर्ष सोही अवधिमा देशभर ५९ दशमलव २८ प्रतिशत रोपाइँ भइसकेको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्यांकले देखाएको छ ।

कृषि विभागकाअनुसार नेपालमा कूल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमध्ये असार २६ गतेसम्म ६ लाख २७ हजार ५ दशमलव ६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

गण्डकी प्रदेशमा सबै भन्दा बढी, कोशीमा सबै भन्दा कम रोपाइँ

प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेशमा ६५ दशमलव ९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हाे । त्यहाँ कूल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ६१ हजार ७ सय २७ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख गरिएकाे छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ५९ दशमलव ६ प्रतिशत (१ लाख ७९ हजार ६ सय ३१ हेक्टर) र सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव ९ प्रतिशत (८९ हजार ७ सय ४२ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ । सुदूरपश्चिमको तथ्याङ्क असार १९ गतेसम्मको मात्रै समावेश गरिएको विभागले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशमा ५७ दशमलव १ प्रतिशत (६५ हजार ४सय ४६ हेक्टर) रोपाइँ सकिएको हाे । कर्णाली प्रदेशमा ४० दशमलव ५ प्रतिशत (१७ हजार ५ सय ४९ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ । धानको मुख्य भण्डार मानिने मधेश र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको हाे ।

मधेश प्रदेशमा कूल ३ लाख ८५ हजार १ सय ३३ हेक्टर धान खेती हुने जमिनमध्ये ३२ दशमलव ८ प्रतिशत अर्थात १ लाख २६ हजार ४ सय ३९ हेक्टरमा मात्र रोपाइँ भएको छ । त्यस्तै, कोशी प्रदेशमा ३१ दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको हाे । कोशीमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ ।

गत वर्षको तुलनामा सबै प्रदेशमा गिरावट

कृषि विभागको तथ्यां अनुसार गत वर्षको तुलनामा यस वर्ष सबै जसो प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ । गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९३ दशमलव १० प्रतिशत रोपाइँ भइसकेकोमा यस वर्ष ५७ दशमलव ९ प्रतिशत मात्र भएको हाे ।
त्यस्तै, कर्णालीमा गत वर्ष ८३ दशमलव २३ प्रतिशत रोपाइँ भएकोमा यसपालि ४० दशमलव ५ प्रतिशत मात्रै सकिएको छ ।

वागमतीमा पनि गत वर्ष ७६ दशमलव ३१ प्रतिशत रोपाइँ भएकोमा यसपालि ५७ दशमलव १ प्रतिशत मात्रै भएको विभागले जनाएकाे हाे ।