एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार राति सरकारको व्यापक रुपमा पुनर्गठन गर्ने घोषणा गर्नुभएकाे छ।
उहाँले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव समेत गर्नुभएकाे हाे। यद्यपि उहाँले प्रधानमन्त्री स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने जानकारी भने दिनुभएकाे छैन । साथै, उहााले परिवर्तनको कारण पनि खुलाउनुभएकाे छैन।
राष्ट्रपति जेलेन्स्कीले भन्नुभयाे,-“स्विरिडेन्कोलाई उहाँको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उहाँको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु । म आशा गर्दछु,सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौँ । कानून प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ ।”
राष्ट्रपति जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएकाे थियाे। राष्ट्रपति जेलेन्स्कीले एक्समा एक विज्ञप्ति जारी गर्दै युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गर्नुभएकाे छ । जसमध्ये युरोपेली संघमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउने उल्लेख गरिएकाे छ ।
राष्ट्रपति जेलेन्स्कीले विदेश नीतिका विभिन्न क्षेत्रहरू व्यवस्थापन गर्न फरक–फरक व्यक्तिहरूलाई जिम्मेवारी दिने योजना बनाएको समेत बताउनुभयाे । उहाँले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुर्नगठन गरेकाे पनि बताउनुभयाे ।
मन्त्रिपरिषद् पुनर्गठनका लागि संसदको अनुमति आवश्यक पर्छ । तर रूसको आक्रमणपछि सांसदहरू ठूलो रूपमा राष्ट्रपति जेलेन्स्कीको वरिपरि गोलबद्ध भएकाे र सामान्यतया उहाँको एजेन्डालाई रोक्दैनन् ।









प्रतिक्रिया दिनुहोस्