Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


हर्मुज जलमार्ग बन्द गरेको इरानको घोषणा


0
Shares

काठमाडौं ।

इरानले विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यस क्षेत्रमा अमेरिकाको कथित हस्तक्षेप अन्त्य नभएसम्म यो प्रतिबन्ध कायम रहने जनाएको छ ।

इरानको सैन्य संगठन ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ ले यो बन्दको प्रतिक्रियास्वरूप अमेरिकाले कुनै पनि प्रकारको आक्रामक कदम चालेमा त्यसको गम्भीर प्रतिवाद गर्ने र खाडी क्षेत्रमा रहेका नयाँ अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउने चेतावनी दिएको छ ।

यसै क्रममा इरानी सेनाले आफ्नो स्वीकृत मार्ग परिवर्तन गरी प्रणाली बन्द गरेको भन्दै अर्को एक संदिग्ध जहाजमाथि चेतावनीस्वरूप गोली प्रहार गरिएको समेत जनाएको छ । यो कदम हालै ओमानको जलक्षेत्रमा तीनवटा व्यावसायिक तेल ट्यांकरहरूमाथि भएका शृङ्खलाबद्ध आक्रमणपछि आएको हो ।

यसअघि अमेरिकी हवाई हमलामा परी इरानमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि जवाफी प्रहार गरेको थियो । सैन्य टकरावसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम भंग भएको घोषणा गर्नुभएको छ भने इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकामाथि सम्झौता उल्लंघनको आरोप लगाउनुभएको छ ।

अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई अन्तर्राष्ट्रिय जलमार्ग खुला रहेको सार्वजनिक प्रतिवद्धता जनाउन दबाब दिइरहेका छन् ।