काठमाडौं । इंग्ल्यान्ड नर्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको मियामी रङ्गशालामा आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २-१ गाेलले पराजित गर्दै सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरेका थिए ।
खेलको पहिलो हाफको ३६ औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिंघमले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका छन्।
दोस्रो हाफको ५४ औँ मिनेटमा टोबजन हेगमले बललाई जाली चुमाएका थिए । बल डिबक्स एरियामा पुग्नुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका डिफेन्डरलाई लडाउन पुगेका थिए । भीएआर परीक्षणपछि त्यसलाई फाउल मान्दै गोललाई मान्यता दिइएन।
दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । उक्त समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिंघमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरेका थिए ।
सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डको खेलबाट तय हुने विजेतासँग खेल्ने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्