काठमाडाैं ।
नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्याङ्क प्रश्तुत गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै प्रश्न गर्नुभयो, “आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् ?’
किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उहाँले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । काठमाडौं आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे स्पष्ट पारिदिनुप¥यो ।’
सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाउनु भयो । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उहाँले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गर्नुभयो ।
‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ’ शर्माले भन्नुभयो, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जति सक्दो चाँडो मुक्त हुनुपर्छ ।’ उहाँले समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुनेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्