काठमाडौं । साउदी अरबले रमजानको अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयअनुसार माफी रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा प्रदान गरिएको हो । माफी प्राप्त नेपाली कैदीबन्दीहरू साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्कनेछन् ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै साउदी सरकारको उक्त निर्णयप्रति नेपाल सरकारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेको जनाएको छ । मन्त्रालयले कैद माफी पाएको समयावधि भने खुलाइएको छैन ।
नेपाल सरकारले साउदी अरबको यस निर्णयलाई दुई देशबीचको दीर्घकालीन मित्रता, सद्भावना तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ।
मन्त्रालयले साउदी अरब सरकारप्रति धन्यवाद व्यक्त गर्दै यस कदमले नेपाल–साउदी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साउदी अरबमा विभिन्न अभियोगमा सजाय भोगिरहेका विदेशी नागरिकलाई धार्मिक तथा विशेष अवसरहरूमा माफी दिने परम्परा रहँदै आएको छ।









प्रतिक्रिया दिनुहोस्