काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताउनुभएको छ ।
सिंहदरबारमा मंगलबार ६८ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्न नहुनेमा जोड दिनुभएको हो । नेता आङदेम्बेले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालिएको टिप्पणी गर्नुभयो ।
सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्नुभएकाे छ। उहाँले यसलाई कुनैपनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो । ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्नु गलत भएको उहाँको तर्क छ ।
नेता आङदेम्बेले संसद दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नमनाई यसलाई देश र जनताप्रतिको दृढ प्रतिवद्धतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे। उक्त प्रतिवद्धतालाई ठोस अठोट र सङ्कल्पमा बदल्नुपर्ने भन्दै उहाँले सोही अनुसार अघि बढ्न सबै पक्षलाई आह्वान समेत गर्नुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्