Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमालेको आपत्ति


0
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गर्नुभएको छ ।

प्रतिनिधिसभाकाे आइतबार बसेकाे बैठकमा बाेल्दै सांसद कँडेलले राष्ट्रियता र राजनीतिक प्रतिशोधका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गत जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भनी दिनुभएको बयान राष्ट्रघाती भएको सांसद कँडेलको तर्क छ । उहाँले उक्त अभिव्यक्तिले भविष्यमा दुई देशबीच हुने वार्तामा नेपालको विपक्षमा प्रमाणको रूपमा काम गर्न सक्ने खतरा औंल्याउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त भनाइ संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो ।

एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरिएको विषयमा पनि सांसद कँडेलले कडा विरोध जनाउनुभयो । उहाँले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिको रूपमा व्याख्या गर्नुभएकाे छ । उहाँले पौडेलको तत्काल रिहाइको माग समेत गर्नुभयो ।

सांसद कँडेलले मन्त्रीहरूले सचिवालयमा नौ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको भन्ने समाचारप्रति पनि प्रश्न उठाउनुभएकाे छ। यदि यो सत्य हो भने यो ‘नीतिगत भ्रष्टाचार’ को पराकाष्ठा हुने उहाँको टिप्पणी थियो । सरकारले एकातिर वास्तविक अपराधीलाई उन्मुक्ति दिने र अर्कोतिर करका दरमा सूचना चुहावट गरी बिचौलियालाई लाभ पुर्‍याउने काम गरिरहेको आरोप लगाउनुभएकाे छ।

सांसद कँडेलले सरकारको कार्यशैली निन्दनीय रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्यालय मातहत रहेका छानबिन निकायहरूलाई राजनीतिक हतियार नबनाउन समेत चेतावनी दिनुभएको छ ।