काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारी साधन सञ्चालनमा कडाइ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको ‘विकास सहजीकरण बैठक’ले सवारी साधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेकाे हाे । निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न यहि असार १४ गतेदेखि २८ गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएकाे छ।
बैठकको निर्णय अनुसार, उक्त सडक खण्डमा असार १४ गतेदेखि असार २८ गतेसम्म टिपरलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइने भएकाे हाे । त्यसैगरी, ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाइने निर्णय भएको छ । तर, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने पूर्ववत् रूपमै सञ्चालन हुने बैठकले निर्णय गरेकाे हाे ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुखले बैठकमा बाँकी काम गर्ने क्रममा एक लेन सडक बन्द गर्नुपर्ने र एक लेनमा मात्र सवारी चलाउनु पर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराएपछि प्रशासनले यस्तो निर्णय गरेकाे जनाएकाे छ ।
सवारी साधनहरूलाई वैकल्पिक मार्ग (डाइभर्ट) गर्न सहयोगका लागि सडक डिभिजन कार्यालयका प्रमुखले काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको हाे । प्रशासनले यस सम्बन्धी सर्वसाधारणलाई जानकारी दिन आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी पनि डिभिजन सडक कार्यालयलाई नै दिएको जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्