काठमाडौं, असोज १२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिएको चाडपर्वलाई लक्षित गरी उपत्यकाका १४ स्थानमा यात्री सहायताकक्ष स्थापना गरेको छ ।
महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी सहायताकक्ष स्थापना गरेको जानकारी दिएको हो ।
कलंकी, स्वयम्भू, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँबानेश्वर, पुरानो बानेश्वर, नागढुंगा र जगातीमा यात्री सहायताकक्ष स्थापना गरिएको हो ।
महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले राजधानीका १४ स्थानमा सहायताकक्ष स्थापना गरिएको बताए ।
सहायताकक्षमा अपराध एवं दुर्व्यवहार तथा ट्राफिकसम्बन्धी गुनासो राख्न सकिने व्यवस्था मिलाइएको छ ।
सहायताकक्षमा यातायात व्यवस्था विभागका कर्मचारी र यातायात व्यवसायीका प्रतिनिधिसमेत रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्