काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको सडक विस्तारविरूद्ध न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडि विरोध प्रदर्शन भएको छ ।
संयुक्त राष्ट्रसंघको ७३औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा त्यहाँस्थित नेपालीहरुले बाहिर विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब तीन घन्टा प्रदर्शन गरिएको जनाइएको छ ।
अमेरिकी नेपाल आदिवासी जनजाति महासंघ, युनाइटेड प्रेसर एन्ड प्रोटेस्ट ग्रुपलगायतका संघ–संस्थाहरुले सडक विस्तारविरुद्ध विरोध प्रदर्शन गरी संयुक्त राष्ट्रसंघको महासभामा ध्यानाकर्षण गराएका हुन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सडक विस्तारका सम्बन्धमा नेपाल सरकारविरुद्धको मुद्दा प्रक्रिया अघि बढाएको अवस्थामा महासभामा प्रधानमन्त्री ओलीले भाग लिन नैतिकरुपले नमिल्ने भन्दै नेपालको संविधानप्रदत्त अधिकार, अन्तर्राष्ट्रिय ऐन–कानुन र सर्वोच्च अदालतको आदेश तथा फैसलाहरु पालना गर्न उनीहरुले माग गरेका थिए ।
सडक विस्तार कार्य नरोके यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
सरकारले ‘गैरन्यायिक’ तरिकाले काठमाडौं उपत्यकामा सडक विस्तार गरी अन्तर्राष्ट्रिय महासन्धि र धारा १६९ को उल्लंघन गरेको भन्दै आइएलओले सरकारविरुद्ध मुद्दा अघि बढाएको छ ।
नेपाल टेलिकम कर्मचारी युनियनले पीडितका तर्फबाट गत २५ जनवरीमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालय जेनेभामा सडक विस्तारविरुद्ध सरकारलाई विपक्षी बनाइ मुद्दा हालेको थियो ।
यसअघि, सर्वोच्च अदालतबाटसमेत ‘जनताको घरबास मास्नेगरी विकास नगर्नू, विकल्प भइन्जेल विकल्प हेर्नू, पुरातात्विक र ऐतिहासिक मठ–मन्दिर तथा सांस्कृतिक सम्पदाहरु जोगाउनू, बालबालिकालाई विस्थापन हुँदा पर्ने असर हेर्नू, जनतासँग विकासकाक्रममा निजी घर–सम्पत्ति लिनुपर्दा वार्ता र छलफल गरेरमात्र मुआब्जा दिएर लिनू, सडकको सीमा र सडक बनाउँदा क्षतिपूर्ति दिन’ निर्देशनात्मक परमादेश जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्