काठमाडाैं । चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि वैशाखको अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । १० महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको साेही अवधिको तुलनामा ४१ दशमलव २ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले वैशाखमा मात्रै कीर्तिमानी २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएकाे हाे । यसअघि एक महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन ।
राष्ट्र बैंकले वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको जनाएकाे छ । गत वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो । त्यस्तै, १० महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ३५ हजार ५ सय १० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको हाे । गत वर्षको साेही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३ सय १४ जना रहेको थियो ।
त्यस्तै ,१० महिनामा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ३८ दशमलव ३ प्रतिशतले बढेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड थियो । त्यस्तै, १० महिनामा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो । त्यस्तै, गत वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति झन्डै दोब्बरले बढेर ५ दशमलव ०४ प्रतिशत पुगेको छ ।
गत वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति २ दशमलव ७७ प्रतिशत रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्