Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मन्त्रालयकाे कार्यसम्पादनमा देखिएको समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन


221
Shares

काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई आज सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयभित्र के–कस्ता समस्या छन् ? ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारले चालु आर्थिक वर्षका लागि तय गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा सबै निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकताभन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउनुभयो ।

सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिकको घरदैलोमै सेवा पु¥याउने लक्ष्यसहित काम गरिरहेको भए पनि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगका सदश्य प्राडा सुदन झाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई नागरिक सेवा केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि श्रोत साधन अभाव भन्दा पनि कर्मचारीको कार्य क्षमता अभाव मुख्य समस्या रहेको उहाँको भनाइ छ ।