Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


फिफा विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

उत्तरी आयरल्यान्ड भने ३–१ गोलले पराजित

26
Shares

काठमाडौं । फिफा विश्वकप ‘२०२६’ को तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ ।

लिलमा साेमबार सम्पन्न भएकाे खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका थिए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरु भएको चार मिनेटमै अर्को गोल थपेपछि फ्रान्स २–० गोलले अघि बढेको थियो ।

उत्तरी आयरल्यान्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा पुर्‍याएका थिए। तर खेलको ७५औँ मिनेटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको ३–१ को जित सुनिश्चित गरेका थिए । फ्रान्सले आगामी असार २ गते सेनेगलसँग सामना गर्दै विश्वकप यात्रा शुरु गर्ने भएकाे हाे । समूह ‘आई’ मा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्स चार दिनअघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोस्टसँग २–१ गोलले पराजित भएको थियो ।