काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जिर्ण अवस्थामा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उहाँले उक्त जानकारी दिनुभएको हो । उहाँले जिर्ण रहेको प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको बताउनुभयो ।
महानिरीक्षक कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताउनुभयो । चौकी नै लडेर केही दुर्घटना होला कि भन्ने चिन्ता रहेको उहाँको भनाई छ । अस्थायी चौकीहरूको कति जिर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको उहाँले बताउनुभयो ।
संघीय मामिला तथा स्थानीय तहको समन्वयमा जिर्ण चौकीहरूको निर्माण हुनसके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्युनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने उहाँको भनाई छ ।
विवादित क्षेत्रमा चौकी स्थापना गर्न प्रधान कार्यलयको स्वीकृत थिएन
महानिरिक्षक कार्कीले कर्णाली प्रदेशको बाजुरा र हुम्ला जिल्लाको विवादीत सीमा क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न प्रहरी प्रधान कार्यलयले स्वीकृत नलिएको बताउनुभयो ।
समितिको बैठकमा उहाँले विवादको केन्द्रमा रहेको अस्थायी प्रहरी चौकी निर्माणबारे प्रहरी संगठनलाई औपचारिक रूपमा कुनै प्रश्ताव वा पत्राचार प्राप्त नभएको जानकारी दिनुभयो । प्रदेश सरकारले बजेट विनियोजन गरेर चौकी निर्माण थालिएको उहाँको भनाई छ । उक्त क्षेत्रमा चौकी निर्माण थालिएपछि विवाद सिर्जना भएर झडप भएको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार उक्त क्षेत्रमा सीमा विवाद भनिएपनि मुख्य समस्याको जड जडिबढी व्यापारको केन्द्र रहेको देखिएको छ । प्रहरीको प्रारम्भिक अध्ययनअनुसार विवादको पृष्ठभूमिमा सीमावर्ती क्षेत्रमा हुने जडीबुटी व्यापार, ओसारपसार तथा चीनतर्फको व्यापारिक पहुँचसम्बन्धी विषय पनि जोडिएको देखिएको उहाँले बताउनुभयो ।
कार्तिक महिनामा पनि चरिचरण (पशु चराउने) विषयलाई लिएर दुई पक्षबीच झडप भएको उहाँले जानकारी दिनुभयो । त्यतिबेला बाजुरातर्फको बाख्रा अर्को क्षेत्रमा प्रवेश गरेको विषयमा भएको कुटपिट घटनामा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको र आरोपी धरौटीमा छुटेको उहाँले जानकारी दिनुभयो ।
हालैको घटनामा समेत झडपमा संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता भइसकेको, पक्राउ अनुमति जारी भएको र केही आरोपी फरार रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार हाल विवादीत क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उपस्थिति बढाएर सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । विवादलाई स्थायी रुपमा समाधान गर्नको लागि प्रहरी चौकी स्थापना गर्न सुझाव आएको उहाँले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्