Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


नेपाली टाेली एशियन गेम्स पुरूष क्रिकेट छनोटकाे फाइनलमा प्रवेश

पहिलो सेमिफाइनल खेलमा ओमान भने ८ विकेटले पराजित

39
Shares

काठमाडौं । नेपाल एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ ।

भारतकाे सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे । ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९ओभर दुई बलमा पूरा गरेको थियाे ।

नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाएका हुन् । उनले २६ बलको सामना गर्दा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाएका हुन् । रोहित पौडेलले २० बलमा २१ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमा आउट भएका थिए । टस जितेर शुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको हाे।

नेपालको कसिलो बलिङविरुद्ध संघर्ष गरेको ओमानका लागि ओमानका कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाएका थिए । जुबैर अल बालुशीले २२, अब्दुल जलीलले १६ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानलाई पहिलो सेमिफाइनल खेलमा पराजित गर्दै फाइनल पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २ सय २१ रन र दोस्रो खेलमा मलेसियालाई १ सय ६७ रनको विशाल अन्तरले पराजित गरेको थियो। पहिलो जितसँगै एशियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालले अब फाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एशियन गेम्सको टिकट काटेका हुन्।