Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


असल बानी र अनुशासन सिकाउने ‘ज्ञानी ज्ञानी’ गीत सार्वजनिक (भिडियोसहित)


0
Shares

काठमाडौँ । आजका नानीबाबुहरू नै भोलिका देशका कर्णधार हुन् । तिनै कर्णधारहरूलाई कला र संगीतको माध्यमबाट असल संस्कार, अनुशासन र सकारात्मक सोच सिकाउने उद्देश्यका साथ नयाँ नेपाली बाल गीत “ज्ञानी ज्ञानी” बजारमा सार्वजनिक भएको छ। मनोरञ्जनका साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्‍याउने हेतुले निर्माण गरिएको यो गीतले सार्वजनिक भएसँगै संगीतप्रेमीहरूको ध्यान खिचिरहेको छ।

यस बाल गीतमा कृतिमा पाण्डेको सुमधुर आवाज सुन्न सकिन्छ। सानै उमेरमा लोभलाग्दो गायकी प्रस्तुत गरेकी कृतिमाको स्वरले गीतलाई अझ जीवन्त बनाएको छ ।

गीतका शब्दहरू गीतकार ङावा फिन्जु पाख्रिनले कोरेका हुन् । बालबालिकाले सजिलै बुझ्न सक्ने, गुन्गुनाउन सक्ने र व्यवहारमा उतार्न सक्ने सरल तर अर्थपूर्ण शब्द संयोजन पाख्रिनको रहेको छ। त्यस्तै, गीतमा रामचन्द्र रिमालले सङ्गीत भरेका छन् । रिमालको आकर्षक र कर्णप्रिय संगीतले गीतलाई बालबालिका मात्र नभई हरेक उमेरसमूहका दर्शक-श्रोताका लागि सुन्नलायक बनाएको छ ।

निर्माण टिमका अनुसार “ज्ञानी ज्ञानी” केवल एउटा गीत र मनोरञ्जनको साधन मात्र होइन। यो बालबालिकाहरूमा सकारात्मक सोच, मान्यजनप्रतिको सम्मान, अध्ययनप्रतिको लगाव र असल व्यवहारको विकास गर्ने एउटा सानो प्रयास हो ।

संगीतकार रामचन्द्र रिमाल भन्नुहुन्छ “आजको डिजिटल युगमा बालबालिकाहरूमाझ विदेशी र उमेर अनुकूल नभएका कन्टेन्टहरूको प्रभाव बढिरहेका बेला, आफ्नै नेपाली भाषा र संस्कृति झल्कने यस्ता बाल गीतहरूले उनीहरूलाई सही मार्गदर्शन गर्न मद्दत पुग्नेछ” ।

यस गीतले विद्यालय जाने उमेरका नानीबाबुहरूलाई मात्र नभएर अभिभावक, शिक्षक तथा सम्पूर्ण समाजलाई नै बालबालिकाको सही पालनपोषण र मार्गदर्शनका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ । बालबालिकालाई संगीतको माध्यमबाट सिकाउँदा उनीहरूले चाँडो ग्रहण गर्ने हुनाले यो गीत शिक्षामूलक सामग्रीको रूपमा समेत उपयोगी हुन सक्छ ।