Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियोः महामन्त्री पौडेल

औषधि सेवन गर्ने ८० वर्षीय वृद्धवृद्धाहरूको अवस्थाप्रति राज्य अनुदार बनेकाे ठहर

78
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित ‘विस्थापनको व्याकुलताः शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उहाँले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ। बस्ती छोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनुपर्नेमा राज्यले त्यसो नगरेको बताउनुभयो ।

महामन्त्री पौडेलले बस्तीमा रहेका सबै व्यक्तिहरू जग्गा हडप्ने नियतले मात्र नबसेको र त्यहाँ राज्यकै परिभाषाभित्र पर्ने वास्तविक सुकुम्बासीहरू समेत रहेकाे बताउनुभएकाे छ । बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरिएको उहाँको आरोप छ । उहाँले विद्यालय जाने बालबालिका, सुत्केरी महिला र नियमित औषधि सेवन गर्ने ८० वर्षीय वृद्धवृद्धाहरूको अवस्थाप्रति राज्य अनुदार बनेको बताउनुभयो ।

महामन्त्री पौडेलले वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्शविना गरिएको यस्तो कार्यले विस्थापित परिवारहरूमा ठूलो मानसिक आघात परेको बताउनुभएकाे छ। उहाँले यस विषयमा नेपाली काँग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा बाहिर ल्याएको बताउनुभयो । राज्यले जिम्मेवार ढंगले समस्याको समाधान खोज्नुको सट्टा हेलचेक्य्राँई गरेको उहाँको ठहर छ ।