एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएपछि विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेकाे छ।
साेही भाइरसका कारण २ सय ४६ वटा शंकास्पद केसहरू फेला परेका हुन्। ययद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाले यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको बताउनुभयाे जसको गत अप्रिल २४ तारिखमा मृत्यु भएको थियो। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्।
यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो । यो देशमा देखिएको यसको १७औं प्रकोप हो। विशेषज्ञहरूले यस पटक इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेन फेला परेको बताएका छन् । जबकी यसअघि कंगोमा धेरै जसो केसहरू ‘जायरे’ स्ट्रेनका हुन्थे। हाल उपलब्ध धेरैजसो इबोलाका खोप र उपचार जायरे स्ट्रेनलाई ध्यानमा राखेर बनाइएकाले यस नयाँ स्ट्रेनले अधिकारीहरूको चिन्ता बढाएको हाे।
इटुरी प्रान्तको राजधानी बुनियाका बासिन्दाले त्यहाँ त्रासको माहोल रहेको बताएका छन्। स्थानीय निवासी जीन मार्क असिम्वेले पछिल्लो एक हप्तादेखि लगातार मृत्यु भइरहेको बताए । कहिलेकाहीँ एकै दिन २-३ वा साे भन्दा बढी मानिसको अन्तिम संस्कार गर्नुपरेको छ। मानिसहरूले सुरुमा यो रोग के हो भनेर बुझ्न नै सकेका थिएनन्। यद्यपि, बुनियाका बजार र सार्वजनिक स्थलहरूमा झने सामान्य गतिविधि जारी नै छ।
अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको जनाएको छ। उता, क्षेत्रीय आवतजावतलाई मध्यनजर गर्दै केन्याले शतर्कता बढाएको छ। सरकारले इबोलाको पूर्वतयारीका लागि छुट्टै टोली बनाएर देशका सबै प्रवेश बिन्दुहरूमा निगरानी कडा पारेको छ।
विश्वभर इबोला भाइरस डिजिजबाट सङ्क्रमित बिरामीहरूमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको मृत्यु हुने गरेको छ। कंगोमा यो भाइरस फेला परेको क्षेत्र नजिकै बग्ने ‘इबोला नदी’ को नामबाट यसको नामकरण गरिएको हो। यो ज्यानमारा रोग सङ्क्रमित व्यक्तिको रगत, वान्ता र शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्छ । इबोलाबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये कंगो पर्छ।
सन् २०१४ देखि २०१६ कोबीचमा पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबै भन्दा ठूलो प्रकोप थियो । जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। पछिल्ला वर्षहरूमा खोप र उपचारको विकासले यसलाई नियन्त्रण गर्न मद्दत गरे पनि फरक-फरक स्ट्रेन (प्रजाति) देखा पर्दा चुनौती थपिने गरेको छ।










प्रतिक्रिया दिनुहोस्