Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


‘भाइरल’ अनुहारलाई टिकट दिँदा रास्वपा संकटमा


65
Shares

काठमाडौं ।

पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय आफ्नै सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति,व्यवहार र उनीहरूसँग जोडिएका विवादका कारण दबाबमा परेको छ ।

सुशासन, जवाफदेहिता र राजनीतिक संस्कार परिवर्तन गर्ने प्रतिबद्धतासहित जनतामाझ पुगेको पार्टीका केही प्रतिनिधि पटक–पटक विवादमा तानिएपछि रास्वपाले उठाउँदै आएको राजनीतिक परिवर्तनको नारामाथि नै प्रश्न उठ्न थालेको छ ।

पुराना दलका नेताहरूले जनताको विश्वास गुमाउनुको एउटा कारण उनीहरूका प्रतिबद्धता र व्यवहारबीचको अन्तर थियो । त्यही असन्तुष्टिलाई राजनीतिक अवसरमा बदल्दै अगाडि बढेको रास्वपाका लागि अहिले आफ्ना प्रतिनिधिहरूको आचरण,सार्वजनिक अभिव्यक्तिको स्तर र पार्टी अनुशासन कायम राख्नु प्रमुख चुनौती बनेको छ ।

सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका व्यक्तिलाई राजनीतिक अवसर दिँदा उनीहरूको सार्वजनिक छवि, विगतको पृष्ठभूमि, राजनीतिक अनुभव र सार्वजनिक पदको जिम्मेवारी निर्वाह गर्ने क्षमताको पर्याप्त मूल्यांकन भयो कि भएन भन्ने बहससमेत चर्किन थालेको छ । यद्यपि, विवादमा परेको आधारमा कुनै व्यक्तिलाई दोषी ठहर गर्न मिल्दैन । आरोपको निष्पक्ष छानबिन र सम्बन्धित व्यक्तिको जवाफ पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

रास्वपाका सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारसँग जोडिएको विवाद पछिल्लो समय पार्टीका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ । सार्वजनिक भएका अडियो सामग्री र सञ्चारमाध्यममा प्रकाशित विवरणपछि उहाँमाथि महिलामाथि अपमानजनक व्यवहार, धम्की, ब्ल्याकमेलिङ तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी आरोप लागेको छ । यी आरोपको स्वतन्त्र पुष्टि र आधिकारिक अनुसन्धानबाट निष्कर्ष आउन बाँकी छ ।

सुनारले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै अडियो एआईलगायत प्रविधिको प्रयोगबाट तयार पारिएको हुन सक्ने दाबी गर्नु भएको छ । उहाँले आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिन र अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

विवाद सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले घटनालाई गम्भीर र संवेदनशील रूपमा लिएको बताउनुभएको छ । पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको थियो । छानबिन पूरा नभएसम्म सुनारलाई सांसद तथा केन्द्रीय सदस्यको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी भई जिम्मेवारी निर्वाह नगर्न निर्देशनसमेत दिएको छ ।

आचार्यले महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक कारोबारजस्ता विषयलाई सामान्य रूपमा लिन नसकिने भएकाले पार्टीले आन्तरिक छानबिन गरिरहको छ । कानुन उल्लंघन गर्ने वा सार्वजनिक पदको मर्यादाविपरीत काम गर्ने कसैलाई पनि पार्टीले राजनीतिक संरक्षण नदिने उहांले दावी गर्नुभयो ।

सांसद सुनार मात्र होइन टीका संग्रौला, केपी खनाल र आशिका तामाङसँग जोडिएका सार्वजनिक विवादले पनि पार्टीको राजनीतिक संस्कार र जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठाएको छ । टीका संग्रौलाका आक्रामक अभिव्यक्ति र राजनीतिक असहमतिलाई प्रस्तुत गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालमा पटक–पटक बहस हुने गरेको छ

त्यस्तै, केपी खनाल विभिन्न व्यक्ति र समूहमाथि पटक पटक धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका कारण विवादमा तानिनु भएको छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना भनाइ र व्यवहारप्रति जिम्मेवार हुनुपर्ने अपेक्षाबीच यस्ता घटनाले रास्वपाका प्रतिनिधिहरूको कार्यशैलीबारे प्रश्न सिर्जना गरेको छ ।

त्यस्तै, आशिका तामाङ संसद्भित्रको आक्रोशपूर्ण प्रस्तुति तथा सार्वजनिक बहसका क्रममा देखिएको व्यवहारलाई लिएर चर्चामा आउनु भएको छ । संसद्मा असहमति राख्ने क्रममा उहाँ आक्रोशित भएपछि अन्य सांसदहरूले सम्झाउनुपरेको घटनाले जनप्रतिनिधिको मर्यादा र संसदीय आचरणबारे बहस निम्त्याएको थियो ।

यद्यपि, यी घटनालाई मात्र आधार बनाएर सम्बन्धित व्यक्तिका सबै गतिविधिलाई विवादास्पद ठहर गर्नु उचित हुँदैन। तर सुशासन, पारदर्शिता र राजनीतिक संस्कार परिवर्तनको नारा बोकेको रास्वपाका लागि आफ्ना प्रतिनिधिहरूको सार्वजनिक अभिव्यक्ति र व्यवहारलाई जिम्मेवार बनाउनु चुनौतीपूर्ण देखिएको छ ।

पार्टीले विवादमा परेका घटनाको निष्पक्ष समीक्षा गर्दै आवश्यक सुधार र अनुशासन कायम गर्न सकेन भने पुराना दलको कार्यशैलीप्रति असन्तुष्ट जनताले नयाँ राजनीतिक शक्तिबाट गरेको अपेक्षामाथि समेत प्रश्न उठ्न सक्छ ।

राजनीतिशास्त्री कमल बुढाका अनुसार रास्वपाले राजनीतिक अनुभव, योग्यता र पृष्ठभूमिको पर्याप्त मूल्यांकन नगरी सामाजिक सञ्जालमा चर्चित अनुहारलाई प्राथमिकता दिँदै चुनाव जित्ने रणनीति अपनाउँदा अहिले पार्टीले आलोचना खेप्नुपरेको हो । देशमा सुशासन र विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको रास्वपाले जनताको अपेक्षाअनुसार परिणाममुखी काम अघि बढाउन नसकेको उहाँको टिप्पणी छ ।

पुराना दल र तिनका नेताप्रति जनतामा रहेको असन्तुष्टिलाई आधार बनाएर नयाँ अनुहारलाई स्वतः योग्य र सक्षम ठान्ने प्रवृत्तिले राजनीतिमा अपेक्षा र वास्तविकताबीचको दूरी बढाएको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘पोखरा जानुपर्ने यात्रु काभ्रेतिर जान लागेको अनुभूति हुन थालेको छ ।

यसले पार्टीले घोषणा गरेको राजनीतिक गन्तव्य र व्यवहारमा देखिएको कार्यशैलीबीच तालमेल नमिलेको अवस्थालाई संकेत गर्छ ।’ पुराना दलको असफलताबाट राजनीतिक अवसर पाएको रास्वपाले पनि आफ्ना प्रतिबद्धता पूरा गर्न सकेन भने उसले समेत उही अविश्वासको सामना गर्नुपर्ने उहाँको निष्कर्ष छ । नेपाल समाचारपत्र