काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा हुने साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ ।
एन्फाले शनिबार साफ च्याम्पियनशिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलो पटक स्थान बनाउनुका साथै तीन जना खेलाडीले पुनरागमन गरेका छन् । अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका हुन् ।
त्यस्तै, गीता राना, सविना चौधरी र अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् । नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाईं बाहिरिएका हुन् । भारतको गोवामा हुने साफ च्याम्पियनशिपमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा श्रीलंका र भुटान छन्।
समूह ‘बी’मा साबिक विजेता बङ्गलादेश, भारत र मालदिभ्स रहेका छन् । साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले यहि जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्