काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन खुला गरेको हो ।
समितिले बिहीबार स्वीकृत गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको जनाएको छ । जारी सूचना अनुसार आवेदन दिन इच्छुक व्यक्तिले सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।
उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधिसमेत आफ्नो वेबसाइटमा सार्वजनिक गरेको मन्त्रालयले जनाएको हाे।











प्रतिक्रिया दिनुहोस्