काठमाडाैं । नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ ।
मंगलवार संसद समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आपत्ति जनाउनुभएको हो । उहाँले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायहरूमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनु भयो ।
उहाँले सरकारले आफ्ना अनुकूल व्यक्तिहरूलाई महत्वपूर्ण संवैधानिक आयोगहरूमा नियुक्त गरी आयोगहरु आफ्नो नियन्त्रणमा राख्ने नियतले अध्यदेश ल्याएको बताउनु भयो । उहाँले अध्यादेशमार्फत भएका निर्णयविरुद्ध संसदमा सशक्त रूपमा आवाज उठाउने चेतावनी दिनुभयो । सबै अध्यादेश जारी भइसकेपछि मात्रै संसद बोलाइने सरकारको निर्णयले समेत सरकारको बदनियतको संकेत गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी यहाँ बस्दाबस्दै पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । राज्यले आफ्नो अनुकुल महत्वपूर्ण संवैधानिक आयोगहरुमा आफ्नो मान्छे नियुक्त गरी नियन्त्रणमा राख्ने खालको तथा प्रतिपक्ष र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट व्यक्त भएको नागरिकको भावनालाई कुल्चिएर जस्तो प्रवृत्ति सरकारले प्रश्त्ुत गरेको छ । यसका विरुद्धमा हामी संसदमा सशक्त आवाज उठाउँछौँ । यतिका धेरै अध्यादेश पास भइसकेपछि संसद बोलाइनुले पनि सरकारको बदनियत देखिन्छ ।’
उहाँले सरकारले सुकुम्बासी बस्ती व्यवस्थापनमा समेत मानवीय समवेदनलाई ख्याल नगरेको प्रति आपत्ति जनाउनु भयो । उहाँले सुकुम्बासी परिवारको उचि व्यवस्थापन नगरीकनै डोजर चलाउँदा मानव अधिकारको उल्लङ्घन भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्