नवलपरासी । रामग्राम नगरपालिका नवलपरासीले शुक्रबार २५७० औं बुद्ध जयन्तीका अवसरमा बृहत साइकल र्यालीको आयोजना गरेको छ ।
हरेक वर्षको भन्दा अहिले फरक शैलीमा साइकल र्यालीको आयोजना गरी जयन्ती मनाइएको हो । रामग्रामको पण्डितपुरदेखि अस्तुधातु रहेको रामग्राम स्तूपासम्म र्याली गरिएको छ । रामग्राम स्तुपा गौतम बुद्धको आठ धातुमध्येको एक महत्वपूर्ण धातु रहेको स्थल हो । विश्वका अन्य स्थानमा रहेका धातुहरु निकालिएपनि यहाँको धातु ननिकालिएकाले यसको विशेष ऐतिहासिक तथा धार्मिक महत्व रहेको मानिन्छ ।
त्यसैगरी रामग्राम नगरपालिका–१८ मा रहेको पण्डितपुर क्षेत्र बौद्धकालीन कोलीय गणराज्य (गौतम बुद्धको मावली क्षेत्र) को प्राचीन सहर भएको क्षेत्र हो । विभिन्न समयमा गरिएको भू–भौतिक सर्वेक्षण र उत्खननबाट पण्डितपुर प्राचिन सहर भएको पुष्टि गर्ने प्रमाणहरु फेला परेका छन् । यसले रामग्रामका यी दुई क्षेत्रको ऐतिहासिक महत्वलाई थप मजबुत बनाएको हाे ।
साइकल र्यालीमार्फत यि क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय सरकारसहित स्थानीयबासीहरु लागि परेको सन्देश दिन कार्यक्रमले सघाउ पुर्याउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिनुभयाे । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले रामग्रामका दुई क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारसमेत लागि परेको बताउँदै यस्ता कार्यक्रमले स्थानीय स्तरमा पर्यटन क्षेत्रको संरक्षणमा अपनत्व बढाउने बताउनुभएकाे छ।
१ हजार भन्दा बढी साइकलको सहभागिता रहेको र्यालीमा जिल्लाका विभिन्न क्षेत्रका युवासहित, जनप्रतिनिधि, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि र स्थानीयवासीहरुको बाक्लाे सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्