काठमाडाैं । शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मजयन्ती शुक्रबार देशैभर विविध कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ ।
काठमाडौंको ऐतिहासिक एवं धार्मिक सम्पदा स्वयम्भू महाचैत्यमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेकाे हाे । बौद्ध धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीहरू पनि स्वयम्भू पुगेर बुद्धको प्रार्थना, पूजाआजा र दीप प्रज्वलनमा सहभागी भएका छन् । भक्तजनको चापलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयम्सेवकहरू परिचालन गरिएको थियो । स्वयम्भू क्षेत्रलाई ध्वजापताका र बत्तीले सजाइएको छ । जसले त्यहाँको वातावरण अत्यन्तै आध्यात्मिक र उल्लासमय बनाएको हाे ।
प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ । बुद्धको जीवनमा यस दिनको त्रिविध महत्व रहेको छ । ईसापूर्व ५६३ मा आजकै दिन लुम्बिनीको उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको थियो । लामो कठोर तपस्यापश्चात उहाँले भारतको बोधगयामा आजकै दिन ‘बुद्धत्व’ (ज्ञान) प्राप्त गर्नुभएको थियो । कुशीनगरमा आजकै दिन उहाँले ‘महापरिनिर्वाण’ प्राप्त गर्नुभएको थियो ।
गौतम बुद्धले प्रतिपादन गरेको ‘अहिंसा परमो धर्मः’ र चार आर्य सत्यका उपदेशहरू आजको विश्वमा झन् सान्दर्भिक बन्दै गएका छन् । संसारमा व्याप्त अशान्ति, द्वन्द्व र रिसलाई त्यागेर शान्ति र करुणाको मार्गमा लाग्न बुद्धका दर्शनले सन्देश दिने गर्दछ । काठमाडौंको बौद्ध, लुम्बिनी, नमोबुद्ध लगायतका स्थानहरूमा पनि बुद्धजयन्ती विशेष समारोहका साथ मनाइएको छ ।
नेपाल सरकारले साेही अवसरमा राष्ट्रिय पर्वका रूपमा मनाउँदै सार्वजनिक बिदा समेत दिँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्