Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शिक्षामन्त्री र चिनियाँ राजदूत भेटवार्ता


247
Shares

काठमाडाैं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।

विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । साथै, उहाँहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।

भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संसाथगत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताउनुभएको थियो ।

नेपाल सरकार प्रवक्ता सस्मित पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

चिनियाँ राजदूत माओमिङले नेपाल सरकारकोतर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताउनुभयो । सो भेटमा दुईदेशबीचको आपसी हित र वहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।

Skip This