काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम सञ्चालक समितिमा चार सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आज सूचना प्रकाशन गरी नेपाल वायुसेवा निगम सञ्चालक समितिमा रिक्त चार सदस्य पदका लागि आवेदन खुलाएको हो ।
मन्त्रालयले अहिले रिक्त ३ र आगामी ६ महिनाभित्र खाली हुने १ गरी ४ सदस्य पदमा नियुक्ति गर्न लागेको हो । यसका लागि मन्त्रालयले जारी गरेको सूचना फेसबुकमा राख्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री गनेस पौडेलले इतिहासले अति अब्बल योग्यता र उच्चतहको इमानदारी मागेको बताउनुभएको छ ।
सूचनाअनुसार सञ्चालक समितिको सदस्य पदका लागि वाणिज्य, अर्थ वा लेखाशास्त्रमा ख्याति प्राप्त वा उडड्यन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त व्यक्ति हुनुपर्नेछ । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ मा निगमको सञ्चालक सदस्यको योग्यता तोकिएको छ ।
निगममा महाप्रबन्धकसहित सात सदस्यीय सञ्चालक समिति हुन्छ । महाप्रबन्धकबाहेक बाँकी सदस्यको कार्यावधि चार वर्षको हुने व्यवस्था छ । सञ्चालक सदस्यमध्येबाटै सरकारले अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
सरकारले चाहेमा समितिका अध्यक्ष, उपाध्यक्ष वा कुनै सदस्यलाई उक्त ऐनअनुसार महाप्रबन्धकको जिम्मेवारी दिएर कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकका रूपमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
कानुनले सञ्चालक सदस्यको कार्यावधि समाप्त हुनुभन्दा ६ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले समितिमा राख्ने सदस्यहरूको नाम सरकारसमक्ष प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्