काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा नेता चयन गर्ने भन्दै निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको सोही प्रक्रिया स्थागित गरिएको हो । पार्टी केन्द्रीय कार्य सम्पादन समितिको निर्णय र निर्देशन अनुसार सोही निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसायली स्नेहीेले जानकारी दिनुभयो ।
उहाँले दलको नेता शनिबार साँझसम्म सर्वसम्मत रुपमा उम्मेदवार तय गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे अनि निर्वाचन समितिको समेत सहभागिता रहनेगरी कार्यदल पनि गठन गरिएको बताउनुभएकाे छ । पार्टीको वृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतिहरुको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको हाे ।
सभापति गगनकुमार थापाले सांसद मोहन आचार्य, उपसभापति शर्माले समानुपातिक सांसद भिष्मराज आङ्देम्बेलाई दलको नेताको रुपमा अघि सार्नुभएको छ । अर्का समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतीमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरुलाई गराएपछि कांग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो ।









प्रतिक्रिया दिनुहोस्