काठमाडाैं । नेपालबाट शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनी – शान्तिका लागि साइकल यात्रा’ हुने भएको छ ।
नेपाल पर्यटन बोर्डमा बिहीवार पत्रकार सम्मेलन गरी आगामी वैशाख १५ देखि १९ गतेसम्म साईकल यात्रा हुन लागेको जानकारी दिइएको हो । काठमाडौंदेखि लुम्बिनीसम्म सञ्चालन हुने साइकल यात्रामा स्वदेश तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधिहरुको सहभागीता हुनेछ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्यसहित साईकल यात्रा गर्न शुरु गरिएको आयोजक संस्था टुर डे लुम्बिनी–पेडल फर पिसका अध्यक्ष मेघबहादुर आलेले जानकारी दिनुभयो ।
जेन–जी आन्दोलनपछि नेपालमा पनि पूर्णरुपमा शान्ति स्थापना नभएको र विश्वमा पनि विभिन्न किसिमका द्वन्द्व भइरहेकोले शान्ति स्थापनाको लागी यो यात्रा महत्वपूर्ण हुने उहाँको भनाई छ । उहाँले लुम्बिनीबाट हरेक वर्ष शान्तिको सन्देश दिनुपर्ने बताउनुभयो । अमेरिका–ईरान–ईजरायल युद्ध, रसिया–युक्रेन युद्धको कारण हाल विश्व आक्रान्त रहेको उहाँको भनाई छ । उहाँले विश्व शान्तिको कामना गर्दै काठमाडौंबाट साईकल चलाएर लुम्बीनी पुगी शान्तिदीप बालेर फर्किने जानकारी दिनुभयो ।
यस अभियानले नेपाललाई ‘शान्ति क्षेत्र’का रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उहाँको भनाई छ । भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित नेपालले शान्तिको केन्द्रका रूपमा भुमिका खेल्न सक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘शान्ति मनाउने भनेर हामीले यो अभियानलाई अगाडी बढाएका हौँ । अहिले नेपालमा जेन–जी आन्दोलन भयो, भर्खरका भाईबहिनीहरु सहादत भए ।
उहाँहरुलाई पनि एड्रेस गर्नुपर्छ, नेपालमा फेरि शान्ति आएको छ तर यसलाई व्यवस्थित गर्नुपर्छ । विश्वमा ईरान र ईजरायलको द्वन्द्वदेखि लिएर अमेरिका, रसिया र युक्रेनको द्वन्द्व पनि भईरहेको छ । अब बुद्धको भूमीबाट हामीले शान्तिको सन्देश फैलाउनुपर्छ । लुम्बिनीलाई शान्ति संवादको क्षेत्र बनाउनुपर्छ, लुम्बीनीबाट शान्तिको घोषणा भएको म्यासेजहरु आउनुपर्छ । युएनको वल्र्ड हेरिटेज डे, टुरिजम डे भनेको जस्तै हामीले लुम्बिनीबाट हरेक वर्ष शान्तिको सन्देश दिनेगरि टुर डे लुम्बिनीको सोच अगाडी बढाएका हौँ ।
विश्व अक्रान्त छ, यसलाई शान्ति बनाउनुपर्छ, नेपालमा पनि भर्खरै शान्ति बहाली भएको छ । नयाँ आशाको रुपमा नयाँ सरकार बनेको छ, यसलाई आत्मसाथ गर्दै हामी यहाँदेखि साईकल चलाएर चार दिनको दिन लुम्बिनी पुगेर शान्तिदीप बालेर हामी फर्किनेछौँ । त्यसलाई हामीले टुर डे लुम्बिनी–पेडल फर पिस भनेर नामाकरण गरेका छौँ ।’
उहाँकाअनुसार यो अभियान सन् २०१२ देखि शुरु गरिएको हो । दश वर्षे सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन अवस्थाबाट गुज्रिएको नेपालमा शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले साईकल यात्रा सञ्चालन हुँदै आएको र यसको महत्व अझै बढ्रदै गएको आयोजकको भनाई छ । यस वर्षको संस्करण विशेषगरी जेन–जी पुस्ताका युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहने जनाइएको छ ।
आगामी दिनमा शान्तिका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने आयोजकको तयारी छ । कार्यक्रमलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आउनुभएको छ ।









प्रतिक्रिया दिनुहोस्