Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


केएमसीमा तीनजनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने


221
Shares

काठमाडौं ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले गरिब तथा असहाय तीन जना विरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।

केएमसीले आज पत्रकार सम्मेलन गरी खोटाङका १९ वर्षीय राजेश राई, मोरङका जितेन्द्र महरा तथा ताप्लेजुङका मिङ्मा खान्डु शेर्पाको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि बढाइएको जनाएको छ । अस्पतालले उनीहरूलाई आवश्यक सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराउने छ ।

अस्पतालले यसअघि हुम्लाका नारायण लामाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरी डिस्चार्ज गरिएको जानकारी दिएको छ । केएमसीका मिर्गौला प्रत्यारोपन विशेषज्ञ डा सुरेश महर्जनले मिर्गौला फेल भएपछिको पहिलो उपचार नै प्रत्यारोपन भएको बताउनु भयो । केएमसीका सञ्चालक डा. सुनिल शर्माले राज्यका स्वास्थ्य नीतिहरू सबै नागरिकका लागि समान रूपमा लागू हुन नसकेको बताउनु भयो ।

संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सेवा सबै नागरिकले समान रूपमा पाउनुपर्ने भएपनि व्यवहारमा त्यस्तो नभएको उहाँको भनाई छ । उहाँले मिर्गौला प्रत्यारोपण गर्ने विरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने सरकारी घोषणालाई सस्तो प्रचार मात्र भएको आरोप लगाउनु भयो । सरकारले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका विरामीलाई मात्रै औषधी किन्न रकम दिने गरेको प्रति उहाँले असन्तुष्टी जनाउनु भयो ।

उहाँले सरकारी अस्पतालमा ६ देखि ८ महिनासम्मको पालो नआउने हुँदा विरामीहरुलाई थप आर्थिक भार पर्ने बताउनु भयो । डा. शर्माले मिर्गौला प्रत्यारोपण जस्तो संवेदनशील विषयमा सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । सरकारले जुनसुकै अस्पतालमा प्रत्यारोपण गरेको भएपनि बिरामीलाई औषधि उपलब्ध गराउने जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।