Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सार्वजनिक यातायातमा विद्यार्थीलाई गाडी भाडामा अनिवार्य रूपमा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन


546
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विभागले हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न विभागले सम्झाएको छ ।

इन्धनको मूल्य बढेसँगै कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढिरहेको छ । हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको विभागले जनाएको हाे ।

सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने गरेको गुनासो प्राप्त भएपछि विभागले पुनः पत्राचार गरी ध्यानाकर्षण गराएको छ । विभागले पठाउको पत्रमा सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको निर्णयलाई स्मरण गराइएको छ ।

त्यसदिन विद्यार्थीहरूलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने सहमति अनुसार विद्यार्थीहरूले गाडी भाडामा सहुलियत पाउँदै आएका हुन्। यदि कुनै पनि सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरे कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी समेत दिएकाे छ ।