Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सरकारले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समयसीमा ताेक्याे (सूचनासहित)

ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने चेतावनी

13
Shares

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिनको समय सीमा दिएको छ ।

मन्त्रालयले मंगलबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै त्यस्ता सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानीका नाममा १५ दिने सूचना जारी गरेकाे हाे । ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने चेतावनी दिएको छ ।

पटक–पटक जानकारी गराउँदा पनि अहिलेसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा १५ दिनभित्र सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउन जारी सूचनामा उल्लेख गरिएकाे छ ।

साथै १५ दिनभित्र ऋण फरफारक नगरे ऋणी, उसको परिवार र जमानीको नामसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने मन्त्रालयले जनाएकाे हाे । ऋण असुलीसँगै बचत फिर्तालाई अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको हाे ।