काठमाडाैं । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ ।
समय र प्रविधिको माग अनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औंल्याइएको हाे । आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरुले गरेका छन् । विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शिर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका हुन् । आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरु तयार रहेको विद्यार्थी नेताहरुकाे भनाइ छ।
नेपाली काँग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक ढर्राले परिणाम नदिने बताउनुभयो । संयुक्त विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै नेता महरले राजनीति र विद्यार्थी आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएकाे छ । उहाँले विगत ३५ वर्षको शासन व्यवस्थाको लेखाजोखा नगरेका कारण र युवा पुस्ताको भावना बुझ्न नसक्दा राजनीतिले अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गर्नुभयो ।
विद्यार्थी राजनीतिलाई विस्थापित गर्ने प्रयास भइरहेको प्रति संकेत गर्दै महरले यसलाई हटाउने नभई सुधार गर्नुपर्नेमा जोड दिनुभएकाे छ । विश्वविद्यालयहरूबाट ब्यानर र कार्यलयहरू हटाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँले स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालयको नियमावली र संविधानले ग्यारेन्टी गरेको अधिकार भएको दावी गर्नुभयो ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कुनै व्यक्तिको इच्छाले खारेज नहुने बताउनुभएकाे छ । पराजुलीले विद्यार्थी आन्दोलनको जन्म सडक र संघर्षबाट भएको भन्दै यसलाई कसैले पनि अन्त गर्न नसक्ने जिकिर गर्नुभयो । पराजुलीले वर्तमान विद्यार्थी नेतृत्वलाई आफ्ना माउ पार्टीका शीर्ष नेताहरूको छायाँ मात्र नबन्न आग्रह गर्नुभएकाे छ । उहाँले वैकल्पिक शक्तिका नाममा आएकाहरुलाई सडकमा आएर लोकतान्त्रिक प्रतिष्पर्धा गर्न चुनौती समेत दिनुभयो । उहाँले खबरदार ! बालेनको डायरीबाट विद्यार्थी आन्दोलन जन्मिएको होइन, बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त वा खारेज पनि नहुने दावी गर्नुभएकाे छ।
त्यसैगरी नेकपा एमालेका युवा नेता समिक बडालले नेपालको विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको मुख्य केन्द्र भएको बताउनुभएकाे छ । बडालले विद्यार्थी आन्दोलनको गरिमा र इतिहासलाई कसैले पनि कम आँक्न नहुने बताउनुभयो । उहाँले विगतमा राजतन्त्रको सान्दर्भिकता विरुद्ध बहस चलाउने तागत विद्यार्थी संगठनहरूसँगै रहेको स्मरण गर्दै अहिले विद्यार्थी संगठनको अस्तित्वकै लागि बहसमा जुट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उल्लेख गर्नुभएकाे छ।
नेता बडालले प्रशासनिक र कानूनी रूपमा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोजिएको आरोप लगाउनुभयो ।









प्रतिक्रिया दिनुहोस्