Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

936
Shares

काठमाडौं । नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ ।

सभापति गगन थापा र कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काबीच आइतबार साँझ गोल्फुटारस्थित खड्का निवासमा भएको छलफलपछि सहमति जुटेको हो । छलफलमा कांग्रेस अनुशासन समितिले पूर्वकार्यवाहक सभापति खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने समझदारी भएको स्रोतले जनाएको छ । सर्वाेच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिइसकेको अवस्थामा स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको बताइएको छ ।

खड्काले कार्यवाहक सभापतिको हैसियतमा दुई वटा वक्तव्य जारी गरेपछि कांग्रेस अनुशासन समितिले वैशाख २ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । समितिले स्पष्टीकरणका लागि एक साताको समय दिएको थियो । यसैबीच खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक साेमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकले औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको हाे । यसलाई कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ उन्मुख भएको संकेतका रूपमा हेरिएको छ।