Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


सातु सेवन गरी आज अक्षय तृतीया पर्व मनाइँदै


273
Shares

काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व साेमबार सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

शास्त्रीय विधान अनुसार साेमबार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर तथा मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा रहेकाे हाे ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु तथा सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाे छ । साेही अवसरमा पशुपतिनाथ मन्दिर लगायतका देशैभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।