Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


सर्वोच्चले विशेष महाधिवेशनलाई आधिकारिता दिएसँगै कांग्रेसको देउवा पक्ष नैतिक संकटमा

रणनीति बनाउन आज छुट्टै बैठक बस्दै

806
Shares

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक आइतबार बोलाउनुभएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आइतबार मध्याह्न सवा १२ बजेका लागि बैठक बोलाइएको खड्काको सचिवालयले जनाएको हाे । कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गत शुक्रबार निर्णय दिएको थियो । गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विशेष महाधिवेशनलाई गत माघ ४ गते निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का सर्वोच्च अदालत जानुभएको थियो ।

सर्वोच्चले आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई बैधानिकता दिएपछि खड्का पक्ष हिजो पनि छलफलमा जुटेको थियो । गोल्फुटारस्थित खड्कानिवासमा शनिबार बसेको बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत सहभागी रहेका थिए ।

डा. शेखर कोइराला र उहाँ पक्षधर नेताहरु भने बैठकमा सहभागी नभएकाे जनाइएकाे छ।