काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकका कारण करिब दुई अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ ।
लामो समयदेखि विवादित यो विषयमा रकम फिर्ता गर्ने क्रम पनि शुरु भएको हाे । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले अधिकतम पाँच वर्षसम्म तलबसहित अध्ययन बिदा पाउने व्यवस्था छ । तर, यहि सुविधा दुरुपयोग गर्दै अधिकांश प्राध्यापक विदेश गएर नफर्किएको पाइएको छ ।
छानबिनका लागि गठन गरिएको तीन सदस्यीय समितिले अहिलेसम्म ३ सय ९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पुष्टि गरेको हाे । जसमध्ये १ सय ९१ जना अध्ययन सकेर पनि फर्किएका छैनन् भने २ सय ७ जनाले अध्ययन नै पूरा नगरेको पाइएको समितिले जनाएकाे छ।
समितिका संयोजक डा. जीवन काफ्लेले यस्तो प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक रूपमा समेत ठूलो क्षति पुर्याएको बताउनुभयाे । अध्ययन बिदामा गएका स्थायी शिक्षकको ठाउँमा करार र आंशिक शिक्षक राख्नुपर्दा विश्वविद्यालयमाथि थप आर्थिक भार परेको उहाँकाे भनाइ छ ।
प्रारम्भिक विवरण अनुसार एक शिक्षकको वार्षिक तलब भत्ता करिब १० लाख रुपैयाँ हुने हुँदा पाँच वर्षको अवधिमा ३ सय ९८ जनाबाट दुई अर्ब रुपैयाँ बराबरको दुरुपयोग भएको अनुमान गरिएको छ । त्रिविले कबुलियत अनुसार तलब भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्न निर्देशन दिएपछि अहिलेसम्म २० जनाबाट करिब साढे ६ करोड रुपैयाँ फिर्ता भएको छ । थप ५० जना भन्दा बढी प्राध्यापक रकम फिर्ता गर्ने प्रक्रियामा रहेका छन् ।
प्रत्येक प्राध्यापकले न्यूनतम १० लाखदेखि ५० लाख रुपैयाँसम्म फिर्ता गर्नुपर्ने देखिएको समितिले जनाएकाे हाे । त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पहिलो चरणमा स्वेच्छाले रकम नबुझाउनेलाई दोस्रो चरणमा कानूनी प्रक्रिया अघि बढाइने भएकाे छ। आवश्यक परे नाम सार्वजनिक गर्दै कारबाहीका लागि सिफारिस गरिने चेतावनी समेत त्रिविले दिएको हाे।









प्रतिक्रिया दिनुहोस्