जीवन खड्का,रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले वडा नम्बर -४, को ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
खलङ्गा बजारको विभिन्न क्षेत्रबाट संकलित फोहोर स्थानीय बासिन्दालाई जानकारी नगराई एकाएक ट्याखोलामा डम्पिङ गरिएको घटनालाई लिएर विरोध सहित गम्भीर ध्यानाकर्षण जनाएका हुन। ट्याखोलाका स्थानीयबासी तथा सरोकारवाला नागरिकले ०८२ वैसाख ४ गते एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाको उक्त कदम कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।
स्थानीय सरकार जनताको सेवा, संरक्षण र समृद्धिका लागि हुँदाहुँदै पनि जनताको अधिकार, भावना र स्वास्थ्यलाई पूर्ण रूपमा वेवास्ता गरिएकोप्रति यहाँका स्थानीय असन्तुष्ट बनेका छन् । उनीहरूले ट्याखोला क्षेत्रलाई जबरजस्ती फोहोर डम्पिङ स्थल बनाएर नागरिकहरूको जीवनशैली, स्वास्थ्य र वातावरणमाथि सीधा प्रहार गरेको निष्कर्ष निकालेका छन् ।
स्थानीयले सरकारको यो कदमलाई चेतावनी दिँदै ट्याखोलामा फालिएको सम्पूर्ण फोहोर तुरुन्त हटाउन अनुरोध समेत गरेका छन् । यदि आफूहरूको ध्यानाकर्षणलाई वेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गरिने बताएका छन् । आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै ब्यहोर्नु पर्ने प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्