Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


विपद व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता: प्रजिअ अर्याल

शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड

182
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक र मौसमी अवस्थितिका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले नेपाल जस्तो सीमित स्रोत साधन भएको देशले पूर्वतयारीमा ठूलो लगानी गर्न नसक्ने यथार्थलाई स्वीकार्दै उद्धार र राहतमा व्यवस्थापकीय चुस्तता अपनाउनु नै बुद्धिमतापूर्ण विकल्प भएको बताउनुभयो । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको कदर गर्दै उहाँले सुरक्षाकर्मीहरूले गरिरहेको कार्यलाई ‘उत्कृष्ट र स्मार्ट’ को संज्ञा दिनुभएकाे छ । प्रमुख अर्यालले विपद्को समयमा एपिएफ संस्थाप्रति आम नागरिकको निकै ठूलो अपेक्षा रहने तर यथार्थमा स्रोत साधनको अभावकाबीच काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रमुख अर्यालले शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएकाे छ । उहाँले संगठन प्रमुखलाई यस शिक्षालयलाई साधन स्रोत र जनशक्तिले युक्त बनाएर विपद् व्यवस्थापनको क्षेत्रमा ‘सेन्टर अफ एक्सिलेन्स’ र ‘स्मार्ट अर्गनाइजेसन’को रूपमा विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।