काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीतिक विषय समेट्दै ८ बुँदे निर्णय सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसद्मा प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने र सकारात्मक काममा सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल नियमनका नाममा नियन्त्रण नगर्न सरकारलाई सचेत गराएको छ । साथै, विधिको शासन, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया पालना गर्न ध्यानाकर्षण गराइएको छ ।
सम्पत्ति छानबिनका लागि स्वतन्त्र र अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने माग गर्दै हालको संरचनामाथि पुनर्विचार गर्न आग्रह गरिएको छ । कार्की आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी भएको निष्कर्ष निकाल्दै भदौ २४ का घटनामा छुट्टै उच्चस्तरीय छानबिनको माग गरिएको छ ।
त्यसैगरी पेट्रोलियम मूल्यवृद्धि नियन्त्रणका लागि कर घटाउने र विद्यार्थीलाई राहत दिन आग्रह गरिएको छ । बैठकले भातृ संस्था तथा प्रवासस्थित संगठनसम्बन्धी प्रतिवेदन पारित गर्दै सदस्यता नवीकरण र वितरण प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग चारबुँदे माग गरेको छ :
१. पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण स्वतः बढ्न गएको मूल्य अभिवृद्धि कर (VAT) मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गरियोस् । जनतालाई महँगीको मारबाट जोगाउन साविकको करदरमा केही समयका लागि सहुलियत प्रदान गरियोस् ।
२. पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरूमा आंशिक रूपमा हटाउने वा घटाउने व्यवस्था गरियोस् । उदाहरणका लागि, सशस्त्र द्वन्द्वकालमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि लगाइएको पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाइयोस् । साथै भन्सार, सडक मर्मत तथा सुधार दस्तुर, प्रदूषण नियन्त्रण शुल्क, हरित करलगायतका अन्य करहरू निश्चित अवधिका लागि घटाउने वा हटाउने व्यवस्था गरियोस् ।
३. हाल पेट्रोलियम पदार्थ आयात गर्दा लाग्ने करका कारण नेपाल आयल निगमले उच्च मूल्यमा खरिद गरी न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस अवस्थालाई सम्बोधन गर्न VAT फिर्ता वा सहुलियतको स्पष्ट व्यवस्था गरियोस् ।
४. पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढिरहेको वर्तमान अवस्थामा करका दरहरू समग्र रूपमा पुनरावलोकन गरी घटाउने व्यवस्था गरियोस् । साथै, भन्सार र VAT बाहेकका अन्य विविध करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने नीति अवलम्बन गरियोस् । साथै, बढ्दो यातायात खर्चका कारण प्रत्यक्ष प्रभावित हुने विद्यार्थीहरूको सहजताका लागि विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गरियोस् ।कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग चारबुँदे माग गरेको छ :









प्रतिक्रिया दिनुहोस्